रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाई - नगरवासीको गुनासो भन्दा सुझाब बढी

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाई - नगरवासीको गुनासो भन्दा सुझाब बढी

राजन दिल गुरुङ

राजन दिल गुरुङ

3 min read

9 month(s) ago

शेयर गर्नुहोस्

असार ३० रत्ननगर ।

रत्ननगर नगरपालिको शनिबार सम्पन्न आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाईमा नगरवासीहरुले नगरको विकासको लागि सुझाब दिएका छन् । एक वर्ष भित्र भएका कामको समीक्षा गर्दै नगरबासीको सुझाब संकलनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासो भन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण,सुशासनका विषयमा सुझाब बढी दिएका छन् । नगरवासीहरुले फोहोर व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, कृषि र पशुपालनमा अनुदान वितरण, फोर लेन सडकको व्यवस्थापन, लागु औषध नियन्त्रण, दिवा खाजाको अनुगमन, सौराहाको पर्यटन विकास लगायगका विषयमा गुनासोसंगै समाधानको उपायको बारेमा सुझाब दिएका छन् । कार्यक्रममा सहभागी अधिकाँस नगरबासीहरुले स्थानीय सरकारको लगानी अर्थपूर्ण हुने भन्दै देखिने ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । कार्यक्रममा स्वाभलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले मेयर प्रलाद सापकोटाको नेतृत्वको जनप्रतिनिधिको टिमले विकास निर्माण र सुसाधनको क्षेत्रमा अर्थपूर्ण काम गरेको बताए । कृषि र पशुपालनको माध्यमबाट नगरवासीलाई आत्मनिर्भर बनाउने योजना अनुरुप वितरण गरिएको अनुदान सार्थक बनेको उनको भनाई छ । उनले विकास निर्माण स्थलमा योजनाको विबरण सहित देखिने गरी बोर्ड राख्न आग्रह गरे । रत्ननगर १३ का लक्ष्मण पौडेलले फोहोर व्यवस्थापन, सुकुमबासीलाई लालपूर्जा वितरण,सीपमुलक तालिम,सामुदायिक विद्यालयमा भइरहेको राजनीति तथा घरेलु मदिराको उत्पादनमा रोक लगाउन आग्रह गरे । युवा नेता दीपक थापाले विपन्न नागरिक उपचार कोषको रकम बृद्धि गरी ६० लाख पुर्याउन आग्रह गरे । कार्यक्रममा पर्शुराम शर्मा, शिब सुवेदी,बसन्त राना,मिना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,पार्वती घिमिरे, पूर्णबहादुर आलेमागर,प्रलाद ढाकुर, मणिप्रकास खतिवडा,कृष्ण पौडेल, शम्भूभक्त थपलिया विरन्जना घिमिरे लगायतले विकास निर्माणप्रति गुनासो र सुझाब दिएका थिए । नागरिकको गुनासो र सुझाब सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई शिरमा राखेर रत्ननगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए । कृषि र पशुपालनको लागि प्रयाप्त अनुदान दिएका छौं,शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षा अनुसार काम गरेका छौं उनले भने विरोधका लागि विरोध नगरौं, हामी काम गर्न आएका हौं, नागरिकको अपेक्षा अनुसार सबै काम गर्दैछौं । उनले सौराहाको विकासको लागि एक बर्षमा ४० करोड बढी लगानी भइसकेको बताए । मुख्य बजारमा ढल, सौराहालाई बाढीबाट जोगाउन फेब्रिक ड्याक र १४ करोड २४ लाखको लगानीमा नमुना सडक निर्माण भइरहेको मेयर सापकोटाले बताए । स्वास्थ्य तर्फ रत्ननगर अस्पताल परिसरमा मातृशिशु अस्पताल सञ्चालनको लागि भवन निर्माण, ३ हजार २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा, ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा रहेको मेयर सापकोटाले बताए । मेयर सापकोटाले कृषि र पशुपालनको विकासको लागि चालु आर्थिक बर्षमा मात्र ४ करोड रुपैया अनुदान वितरण गरिएको बताए । कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसंग सम्झौता नगर्ने बताए । विकास निर्माणमा नगरवासी पनि सचेत हुनुपर्ने भन्दै उनले काम विग्रिन थाले नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चालु आर्थिक बर्षमा भएका काम र उपलब्धीको बारेमा प्रकास पार्दै नागरिकको सुझाब र अपेक्षा अनुसार काम भइरहेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले नगरवासीले राखेको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रमुखहरुले लगानीलाई अर्थपूर्ण बनाउन आग्रह गरेका थिए । कार्यक्रममा संस्थापक नगर प्रमुख नारायण वन,निर्वतमान उपमेयर विमला दुवाडी, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, समाजबादीका नगर सचिव इश्वरराज अधिकारी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । विप्स मिडियाको सहजीकरणमा भएको कार्यक्रम पत्रकार धुर्बराज खनालले सञ्चालन गरेका थिए ।