तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कप चैत १९ देखि २४ सम्म हुने


शेयर गर्नुहोस्

चितवन – स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ ।

क्लबले यस पटक स्व. राणा स्मृतिको नाममा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।

समूह ‘ए’ मा चितवन भेटेरान रातो, कैलाली भेटेरान, वौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एन आर टी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।

समूह ‘बी’ मा साबिक विजेता काल भैरव भेटेरान हेटौंडासहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाई खलक भेटेरान पोखरा, कलकत्ता भेटेरान भारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेरान निलो र नवलपुर भेटेरान रहेका छन् ।

प्रतियोगिता यस पटक नाइन ए साइड हुनेछ । हरेक दिन बिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ । उद्घाटनको दिन भने एक खेल मात्र हुनेछ । उद्घाटन खेल काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौंबीच दिउँसो ३ बजे हुनेछ ।

विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँच-पाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले तीन-तीन हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ११ लाख १ हजार खर्च हुने संयोजक भरत सुवेदीले जानकारी दिए । किया मोटर्स प्रतियोगिताको मुख्य प्रायोजक हो भने भरतपुर महानगरपालिका सह आयोजक हो। गत वर्ष नै हुनुपर्ने प्रतियोगिता कोभिडका कारण यस वर्ष आयोजना गरिएको हो ।आगामी ३ बर्ष सम्मको सम्झौता भएको टाईटल स्पोन्सर अभिनए राणाले बताएका छन् भने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिब एबम खेल संयोजक भरत सुवेदीले बताए ।


Like it? Share with your friends!