उत्तर कोरिया: किम जङ अनको उपस्थितिमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको दाबी


शेयर गर्नुहोस्
उत्तर कोरियाले आफूले यो महिनाको सुरुमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ

उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ।

केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ।

जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो।

नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए। त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन्।

मङ्गलवार गरिएको प्रक्षेपणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए र उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए।

केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा “उच्च गतिशीलता” भएको भनी व्याख्या गरेको थियो।

हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ। अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन्।

केसीएनए समाचार संस्थाले शेअर गरेका तस्बिरहरूमा अन्य अधिकारीसँग परीक्षणको अवलोकन नेता किमले पनि गरेको देखिन्छ।

खबरहरूका अनुसार सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको यो पहिलोपटक हो।


Like it? Share with your friends!