नेपाल क्रिकेट: क्यानले कारबाही फिर्ता लिने बताउँदै खेलाडीलाई प्रशिक्षणमा आउन दियो समयसीमा


शेयर गर्नुहोस्

एकपछि अर्को मोड लिँदै गएको नेपाल क्रिकेट सङ्घ क्यान र राष्ट्रिय खेलाडीहरू बीचको शक्ति सङ्घर्ष समाधान उन्मुख भएको देखिएको छ।

विवाद समाधानका निम्ति क्यानले एक पाइला पछि हट्दै चार खेलाडीहरूलाई छ महिनासम्म वर्गीकरणको सूचीबाट हटाउने निर्णय फिर्ता लिने जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बीबीसीसँग भने, ” खेलाडीहरू र प्रशिक्षक पुबुदु दशानायकेको अनुरोध अनुसार क्यानले चार खेलाडीमाथि लगाएको छ महिने कारबाही फिर्ता गर्न हामी राजी भएका छौँ।”

“बोर्डबाट गरिएको निर्णय भएकोले हामी यसलाई बोर्डमार्फत नै प्रक्रियामा लाने छौँ र समाधान गर्ने छौँ।”

विवादले खराब रूप लिन थालेपछि आइतवार क्यान पदाधिकारीहरू र कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्लसहित खेलाडीहरूबीच छलफल भएको थियो।

छलफलमा कप्तानीको जिम्मेवारीको विषयमा भएको बहसमा दुवै पक्षको ‘फेस सेभिङ’ हुने विकल्पहरूमा पनि छलफल भएको छ।

क्यानले कप्तान र उपकप्तानको जिम्मेवारीबाट ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई मुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणमा छ महिनाको लागि समावेश नगर्ने गरी कारबाही गरेको थियो।

जसलाई फिर्ता लिनुपर्ने खेलाडीहरूले माग राख्दै आएका छन्।


Like it? Share with your friends!