राजन दिल गुरुङ ०४ फाल्गुन ,चितवन।
अघिल्लो बर्षको सफलता पछि भरतपुर ७ कृष्णपुरको खेल मैदानमा चितवन भेटेरान फुटबल क्लबले दोस्रो पटक अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिता फाल्गुन ११ गते देखि सुरु गर्ने भएको छ।

भेटेरान फुटबल प्रतियोगिताको अहिलेसम्मकै ठूलो धन राशी पुरस्कार भएको प्रतियोगितामा चितवनका दुई टिम (चितवन रातो र चितवन नीलो)सहित भारत र नेपाल गरि कूल १४ टिमको सहभागिता रहनेछ ।

फागुन १५ गतेसम्म चल्ने भेटेरान (४० वर्षमाथिका खेलाडी ) फुटबल प्रतियोगिता जित्ने बिजेता टिमले ट्रफीसहित १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने प्रतियोगिताको उपविजेताले उपविजेता ट्रफीसहित ७५ हजार रुपैयाँ नगद पाउने छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार व्यवस्था गरिएको संयोजक बरुण वस्नेतले जानकारी दिए ।

प्रतियोगिता नाइन ए साइड खेलाइने छ । दुबैतर्फ ९–९ जना खेलाडी मैदान उत्रने छन् । बाँकी ३ जना अतिरिक्त खेलाडी हुने छन् । निर्धारित समयावधि ६० मिनेटसम्म जुनसुकै खेलाडी जतिपटक पनि परिवर्तन हुन सक्ने छन् ।
प्रतियोगिताका लागि सबै तयारी पुरा भएको चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए । चितवनका दुबै टोलीमा पूर्व राष्ट्रिय खेलाडीहरु समेत सामेल हुने उनले जानकारी दिए ।
मंगलबार खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले खेल विकासका लागि आफूहरु सहयोग गर्न सधैँ तयार भएको बताए । उनले ४० वर्ष उमेर कटेकाहरुले फुटबल खेल्दा स्वस्थ रहन सबैलाई प्रेरणा मिल्ने बताए।
प्रतियोगिताका प्राविधिक संयोजक वीरेन्द्र पाण्डेका अनुसार प्रतियोगिता उद्घाटनका दिन दुई खेल खेलाइने छ । पहिलो खेलमा चितवन रातोका विरुद्ध जनकपुर भेट्रान फुटबल क्लब मैदान उत्रने छ भने अर्को खेलमा कालभैरव हेटौँडाविरुद्ध अभिषेक चर्च रजहरले खेल्नेछ ।

भरतपुर नगरपालिका मुख्य प्रायोजक भएको यस प्रतियोगितामा चितवन फुटबल संघको पनि बिशेस सहयोग रहने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले मिठो कुरा डट कमलाई बताएका छन्।